सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

फाल्गुन २१, २०७९ | काठमाडौँ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनु भएको छ । प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतकालागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गर्नुभयो । शाहलाई सभामुख बाहेक ५२ सदस्यीय प्रदेशसभाबाट ४१ मत प्राप्त भएको थियो । कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

यसअघिको सरकारलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ती पार्टीले यसपटक आफ्ना माग पुरा हुने विश्वास गर्दै विश्वासको मत दिएको सो पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले बताउनुभयो ।

शाहको विपक्षमा ११ मत परेको थियो । एमालेका १० र एक जना राप्रपा सांसदले उहाँलाई विश्वासको मत दिएनन् । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहले आफू सबैको साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 


प्रतिक्रिया