घाइते गिद्धको उपचारमा खटियो चिकित्सक टोली (अपडेट)

फाल्गुन २९, २०७९ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित जंगलमा ५ वटा गिद्ध मृत अवस्थामा फेला परेपछि पशु चिकित्सकको टोली घटनास्थलमा पुगेको छ । डिभिजन वन कार्यालय कावासोतीका प्रमुख मोहन काफ्लेका अनुसार सहायक वन अधिकृत शिशिर लम्सालको नेतृत्वमा पशु चिकित्सकको टोली घटनास्थलमा पुगेको हो ।

सो स्थानमा ५ वटा गिद्ध मृत अवस्थामा र दर्जन बढी गिद्ध घाइते भेटिएका छन् । पुरानो कावासोतीको उत्तर तर्फको नमुना जिल्ला सदरमुकाम र केरुंगे खोलाको आसपासमा गिद्ध मरेको भेटिएका हुन् ।

कुखुरा र हांस व्यवसायीले विषादी प्रयोग गरि स्याल मारेको र स्यालको सिनो खाएर गिद्ध मरेको संरक्षणकर्मीको अनुमान छ । सोही स्थानमा तीनवटा स्याल पनि मृत भेटिएका छन् । मरेका गिद्धको पोष्टमार्टम गरिने र मृत्यु हुनाको कारण पत्ता लगाइने वन कार्यालयका प्रमुख मोहन काफ्ले बताउनुभयो ।


प्रतिक्रिया