कोशी प्रदेशका मुख्यमन्त्री कार्की चढेको गाडी तोडफोडको प्रयास

चैत्र ६, २०७९ | ओखलढुङ्गा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ । सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका थिए । कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए । 

कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने हिजोदेखि ओखलढुङ्गामा हुनुहुन्थ्यो । उहाँ आजमात्रै सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि जादै गर्दा अवरोधसहित गाडीमा तोडफोड प्रयास भएको हो । कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया