उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउदै एमाले

चैत्र १८, २०७९

नेकपा एमालेले चितवन २, बारा २ र तनहुँ १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो आज लगाउने भएको छ । एमालेले तीन वटै क्षेत्रको उम्मेद्वारको टुंगो लगाउन अपरान्ह साढे १२ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी सम्बद्ध जिल्ला र प्रदेश कमिटिहरुले सिफारिस गरेका सम्भावित उम्मेद्वारहरुमा आधारित भइ छलफल गरेर टुंगो लगाउने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । 

निर्वाचन आयोगले आगामी बैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि यहि चैत्र २० गते उम्मेद्वारी मनोनयनपत्र दर्ता हुने कार्यक्रम राखेको छ । सोही अनुरुप दलहरुले उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउन सक्रिय बनेका छन् । नेपाली कांग्रेसले तीनै वटै क्षेत्रमा उम्मेद्वारको टुंगो लगाइसकेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेद्वारका नाम सार्वजनिक गर्न आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दैछ । रास्वपाबाट तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले, बारा २ मा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल र चितवन २ मा पार्टी अध्यक्ष रवि लामिछानेको उम्मेद्वार बन्ने सम्भावना रहेको बताइएको छ ।

यता, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाकातर्फबाट वरिष्ठ नेता राजेन्द्र महतो चुनाव लड्ने तयारी रहेको छ बुझिएको छ ।

तनहुँ १ बाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा, बारा २ मा जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा र चितवन २ मा रास्वपा सभापति लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट अयोग्य हुदै सांसद पद खारेज भएपछि सो क्षेत्रहरुमा उपनिर्वाचन हुन लागेको हो । 


प्रतिक्रिया