उपनिर्वाचनका लागि एमाले र रास्वपाले उम्मेदवार टुंगो लगायो

चैत्र १८, २०७९ | काठमाडौं

नेकपा एमालेले आगामी बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचन मध्ये दुई क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । एमालेको आज बसेको सचिवालय बैठकले तनहुँ—१ मा सर्वेन्द्र खनाल र चितवन—२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले बारा—२ को उम्मेदवारको टुंगो लगाउन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कमिटीको सिफारिसको आधारमा थप छलफल गरेर टुंगो लगाइने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटै क्षेत्रमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चितवन—२ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ—१ मा स्वर्णिम वाग्ले र बारा—२ मा रमेश खरेल उम्मेदवार हुने भएका छन् । यता, नेपाली कांग्रेसले चितवन–२ मा जित नारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उठाउने निर्णय गरिसकेको छ । 

बारा–२ मा भने कांग्रेसले अझै उम्मेदवार टुङगो लगाएको छैन । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आगामी सोमबार हुने भएपछि दलहरुले उम्मेदवार टुङगो लगाउन थालेका हुन् । यता, सत्तारुढ माओवादी केन्द्रले उपनिर्वाचनका लागि उम्मेदवारी दिने बारे भोलि निर्णय हुने बताएको छ । गठबन्धनका दलसँगको छलफलपछि कुनै एक क्षेत्रमा पार्टीको उम्मेदवार उठाउने गरी प्रक्रिया अघि बढेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।   


प्रतिक्रिया