उपनिर्वाचनका दिन पृथ्वीराजमार्ग बन्द रहने

वैशाख ९, २०८० | तनहुँ

तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा भोलि हुने उपनिर्वाचनका दिन पृथ्वी राजमार्ग समेत बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ–१ मा पर्ने पृथ्वीराजमार्ग खण्ड र भित्रि सडक खण्डमा सवारी साधन सञ्चालन पूर्ण रुपमा बन्द गरिने जनाएको छ ।

पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेशिसहर सडक खण्ड, आँबुखैरेनी गोरखा सडक खण्ड, दमौली दुई पिप्ले सडक खण्ड लगायत स्थानीय सडक बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

अत्यावश्यक सवारी साधनलाई रोक नलगाइने उहाँले बताउनुभयो । यस्तै, तनहुँ जिल्ला भएर चल्ने रात्रीबसलाई बैशाख १० गते बिहान ४ बजे अगाबै जिल्लापार गरिसक्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया