कोशी प्रदेश : माओवादी केन्द्रमा एमाले नेतृत्वको सरकार छोड्न अलमल

जेष्ठ २२, २०८० | मोरङ

कोशी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि माओवादी केन्द्रले पहल समिति गठन गरेको छ । माओवादी संसदीय दलको आज बसेको बैठकले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन गरेको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने कुनै निर्णय गरिसकेको छैन ।

केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी भने कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । यसअघि माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णय र निर्देशन आएपछि मात्रै सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर कांग्रेस संसदीय दलले माओवादीलाई मुख्यमन्त्री कार्की नेतृत्वको सरकार छाड्न र समर्थन फिर्ता लिन लिखित पत्र नै पठाएपछि माओवादी वैकल्पिक सरकार गठनका लागि अघि सरेको हो । तर आजको बैठकमा सांसदहरुबीच मतभिन्नता देखिएको छ ।

बैठकमा सत्ता गठबन्धनको सरकार गठन हुँदा आलोपालोमा पनि मुख्यमन्त्री नपाउने र अहिले भएका मन्त्रालयहरु पनि नपाउने अवस्थामा समर्थन फिर्ता लिने की नलिने भन्दै बहस चलेको थियो । माओवादी केन्द्रका प्रमुख सचेतक गणेश उप्रेतिले सरकारलाई दिएको समर्थनका विषयमा प्रदेश कमिटिको बैठकबाट भोलि निर्णय लिने बताउनुभएको छ । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा–एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । माओवादी र जनता समाजवादी पार्टीले सरकारबाट बाहिरीएको अवस्थामा प्रदेशमा सरकार फेरबदल हुने अवस्था निर्माण हुनेछ । 


प्रतिक्रिया