जिप र दुइ शव फेला पर्‍यो

जेष्ठ २३, २०८० | खुर्कोट (सिन्धुली)

लगातार पाँच दिनको प्रयासपछि गोताखोर टोलीले बेपत्ता जिप र दुइवटा शव फेला पारेको छ । घटनास्थलबाट करिब ५० मिटर तल सुनकोसी नदीको बीचबाट गाडी र शव फेला परेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सुनकोसीमा पानीको वहाव घटेपछि तीनवटा गोताखोर टोली र प्रहरीको विपद व्यवस्थापन टोलीले गाडिएको अवस्था जिप फेला पारेको थियो । जिप भित्र रहेका दुइवटा शव समेत फेला परेको र सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रमुख एवं प्रहरी निरिक्षक सविता केसीले जानकारी दिनुभयो । 

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीइभीटीको बा १ झ ७४६७ नं को स्कार्पियो जिप पाँचदिन अघि शुक्रबार मध्ये पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना भइ सुनकोसी नदीमा खसेर बेपत्ता भएको थियो । जिप सहित प्रशासन शाखाका निर्देशक तनहु भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगती नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुत्र्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेलको अवस्था अज्ञात रहेको थियो । तीनजना वेपत्ता मध्ये दुइजना भेटिएका छन् । 

चालक दाङ घर भएका कृष्ण चौधरी पौडिएर निस्किएका छन् । शसस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थान समेत चारवटा टोलीले सुनकोशी नदीमा पाँचदिन अघि देखि बेपत्ता कर्मचारीहरुको खोजीकार्य गर्दै आएको थियो । चारवटा स्काभेटर, तीनवटा जेसीबी, डोजर, पाँचवटा टिपर र ट्यााक्टर लगाएर पानीका वहाव अर्कोतर्फबाट फर्काएपछि बेपत्ता भेटिएका हुन् । 


प्रतिक्रिया