मन्त्री सिंह सवार गाडी दुर्घटनाको छानबिन गर्न समिति गठन

असार ७, २०८०

सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडीे दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषदको आज बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी गत मंगलबार बझाङको केदास्यूँ गाउँपालिकामा भएको दुर्घटनाको उच्च स्तरीय छानवीन समिति गठन गरेको हो । 

समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य छन् । समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बताउनुभयो । 


प्रतिक्रिया