कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आहृवान

असार ११, २०८० | मोरङ

कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आगामी बिहीबारका लागि आहृवान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले असार १४ गते बिहीबार दिउँसो १ बजेका लागि अधिवेशन आहृवान गर्नु भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतका लागि अधिवेशन आहृवान गरेको प्रदेश सांसदहरुको भनाइ छ ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीलाई आउँदो शुक्रबारसम्ममा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नै पर्ने बाध्यात्मक व्यवस्था रहेकाले अधिवेशन आहृवान गरिएको हो । अहिलेको एमाले नेतृत्वको सत्तासमीकरणमा एमालेका उपसभामुख सहित ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसद छन् ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन एक जना प्रदेश सांसदको समर्थन आवश्यक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेश सांसदको संख्या ४७ हुन्छ । गठबन्धन दलले भने मुख्यमन्त्री कार्कीले आहृवान गरेको प्रदेशसभा बैठकमा विश्वासको मतको विपक्षमा उभिने रणनीति बनाएका छन् ।


प्रतिक्रिया