डाकनेश्वरी नगरपालिकाकी उप–प्रमुख बिरुद्ध किर्ते नागरिकता लिएको आरोपमा मुद्धा दर्ता

असार १७, २०८० | राजविराज

सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उप प्रमुख मिराकुमारी यादब र उनका पति महेन्द्र कुमार यादब बिरुद्ध नागरिकता समबन्धी कसुरमा आज मुद्धा दर्ता भएको छ । उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि उप प्रमुख मिरा र उनका पति महेन्द्रका बिरुद्ध आज जिल्ला अदालत सप्तरीमा नागरिकता सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

डाकनेश्वरी नगरपालिकाका कृष्णकुमार यादबले उप प्रमुख मिरा दम्पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेश गरि नेपाली नागरिकता लिएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालयमा आबश्यक कारवाहीका लागि उजुरी दिएका थिए । प्रहरीले मुद्धा दर्ता नगरेपछि उनी मुद्धा दर्ताको मागदावी सहित उच्च अदालत जनकपुरको राजविराज इजलास समक्ष उच्च अदालतवाट परमादेशका लागि गएका थिए । उच्चअदालतको राजविराज इजलासले मुद्धा दर्ता गर्न परमादेशको आदेश जारी गरेपछि उनीहरु बिरुद्ध नागरिकता कसुरमा मुद्धा दर्ता गरिएको हो । आईतवार मुद्धा दर्ता भएको छ, केही प्रमाण जुटाइसकेपछि पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने प्रहरीको भनाई छ ।

निवेदक कृष्णकुमार यादबले जिल्ला प्रशासन कार्यालयमा उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तरगत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेश गरि नेपालीनागरिकता लिएको भन्दै कारवाहीको माग गरेका थिए । सप्तरीको साबिक औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको आरोप उप प्रमुख मिरा दम्पतिमाथी छ । 


प्रतिक्रिया