शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रमा भेटियो चिनियाँ बकुल्ला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने झिलमिलामा देखिएको चिनियाँ बकुल्ला । तस्बिर : सौजन्य : हिरुलाल डगौंरा ।  

असार १८, २०८० | कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कञ्चनपुरको बेलडाडी गाउँपालिकाको झिलमिला क्षेत्रमा चिनियाँ बकुल्ला (चाइनिज पण्ड हिरन) भेटिएको छ । नेपालका लागि फिरन्त चराको रुपमा रहेको यो बकुल्ला सुदूरपश्चिममा पहिलो पटक देखिएको हो । 

आइतबार तोप चरा गणनाका क्रममा फिलमिला क्षेत्रको खेतमा सो बकुल्ला देखिएको नेपाल पंक्षी संरक्षण संघका हिरुलाल डगौंराले बताउनुभयो । उहाँका अनुसार यसअघि सो बकुल्ला गत वर्ष चितवनमा र एक महिना अघि मात्रै जेठ ६ मा पोखरामा देखिएको थियो ।

‘नेपालका लागि यो फिरन्ते चरा हो,’ डगौंराले भन्नुभयो, ‘चितवन यता पहिलो पटक देखिएको हो ।’ डगौंराका अनुसार चीन, दक्षिण कोरिया र जापानका लागि भने यो रैथाने चरा हो । बसाइँ सर्ने क्रममा यसले नेपालको बाटो प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

यो पनि अन्य बकुल्ला जस्तै भएपनि टाउको, घाँटी र छातीमा हुने कटुस रंगले यसलाई पहिचान गर्न सकिने डगौंराले बताउनुभयो । आसकोटे, वस्तु, मझौला सेतो र सानो सेता बकुल्लासँगै धानबारीमा आहारा खोजिरहेको अवस्थामा चिनियाँ बकुल्ला देखिएको हो ।

चिनियाँ बकुल्ला देखिएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराको संख्या ४६१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताउनुभो । उहाँले सुदूरपश्चिममा यो प्रजातीको अभिलेख पहिलो पटक गरिएको जानकारी दिनुभयो । 

एक महिना अघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालकै लागि नयाँ प्रजातिको लेसर ग्रे स्राईक नामको चरा भेटिएको थियो । चरा अनुगमनकै क्रममा निकुञ्जको पुर्वी क्षेत्रमा पर्ने सुनवन नदी तटीय क्षेत्रका कालापानी क्षेत्रमा उक्त चरा देखिएको थियो ।


प्रतिक्रिया