जंगली च्याउ खाएर रोल्पामा थप १ को मृत्यु

श्रावण ५, २०८० | रोल्पा

विषालु च्याउको सेवनबाट रोल्पामा थप एक जनाको मृत्यु भएको छ । गत असार २६ मा विषालु च्याउ खाएर बिरामी भई उपचाररत लुंग्री गाउँपालिका–५ बस्ने ७ वर्षीया रोशनी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसअघि च्याउ खाएर लुंग्री गाउँपालिका–५  बुझिङ गाउँकै एकै परिवारका तीन जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार च्याउ खाएपछि उपचार गरारहेका मध्ये ७ वर्षीय रोशनीको भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको हो भने उनीसँगै बिरामी भएका अन्य तीन जनाको बुटवलमा उपचार भइरहेको छ ।

गम्भीर बिरामी भएका ३ जनामध्ये २६ वर्षीया विमला विकको आइसीयूमा राखेर उपचार भइरहेको छ । २४ वर्षीया आकृति र ६ वर्षीया दिलमायाको बुटवलस्थित सिटी अस्पतालको इमेरजेन्सी विभागमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले बताउनुभयो । 

उहाँका अनुसार असार २६ मा च्याउ खाएर बिरामी भएका उनीहरु २९ असारमा सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेका थिए । त्यही प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवलमा पठाइएकामा खर्च अभाव भएको भन्दै सबै घरतिर फर्किएका थिए ।

प्रहरीका अनुसार पुनः स्वास्थ्यमा समस्या देखिएपछि सबैलाई आइतबार बुटवलमा पुर्‍याइएकोमा सोमबार रोशनीको ज्यान गएको हो । अन्यलाई पनि प्राथमिकता साथ उपचार गर्ने व्यवस्था मिलाइएको लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले बताउनुभयो । 

अघिल्लो साता लुंग्री–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको च्याउ खाएर मृत्यु भएको थियो । बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरु ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जंगली च्याउ ज्यान गुमाएका थिए । 

उनीहरु सबैको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा गुरुङका छोरा प्रेमको, सुशील र भीमा गुरुङको मृत्यु भएको थियो । उक्त गाउँका च्याउ खाएर बिरामी भएका करीब एक दर्जनको उपचार भइरहेको छ ।


प्रतिक्रिया