हत्या अभियोगमा राउटे बालक पक्राउ

श्रावण ३२, २०८०

डडेलधुराको परशुराम नगरपालिका १२ को राउटे वस्तीकी १४ वर्षिया बालिका अमृता राउटेको हत्या अभियोगमा प्रहरीले राउटे समुदायकै एक नावालकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जोगवुढाका अनुसार मृतक अमृता संगै खोलामा माछा मार्न गएका राउटे समुदायकै एकजना नावालकलाई हत्या गरेको आशंकामा पक्राउ गरिएको हो । प्रहरीले नावालकको नाम भने खुलाएको छैन । परशुराम नगरपालिकाको रंगुननदीमा माछा मार्न गएकी १४ बर्षिया अमृता राउटे हिजो खोलानजिकै मृत अवस्थामा फेला परेकी थिइन् । 

पक्राउ परेका १६ बर्षिय वालक पनि उनीसंगै माछा मार्न गएको तर सांझ एक्लै घर फर्के पनि घरपरिवारलाई केही नबताएका कारण शंकाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक अमृताका परिवार र संगै माछा मार्न गएकाको वयानका आधारमा हत्या गरेको आशंकामा राउटे बालक पक्राउ परेका हुन् । राउटे समुदायमा यसरी हत्या आरोपमा पक्राउ परेको यो पहिलो घटना हो ।


प्रतिक्रिया