बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

भाद्र १२, २०८० | तनहुँ

बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऋषिङ–७ स्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

थापाले गत साउन ३१ गते बालिकालाई उनकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी अबदेश विष्टले जानकारी दिनुयो ।

बलात्कारको घटना सार्वजनिक भएपछि मिलापत्रका लागि गाउँपालिकाका जनप्रतिनिधिको रोहबरमा बैठक समेत बसेको बताइएको छ । सो बैठकमा आरोपितले घटनाको मिलापत्रका लागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव गरेपनि पीडित परिवारले मिलापत्रमा सहमत नभई थापाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।


प्रतिक्रिया