एक दशकमा ३५ वटा सिमास्तम्भ बाढीले बगायो

नेपाल भारत सिमा छुट्टाउने गुलरिया १० स्थित सीमा स्तम्भ जिर्णो भएको छ ।तस्विर—कमल पन्थी/कान्तिपुर 

भाद्र १४, २०८० | बर्दिया

एक दशक यता बर्दियासंग जोडिएको नेपाल—भारत सिमा छुट्टाउने ३५ वटा सीमा क्षेत्र बबई र कर्णाली नदीले बगाएको छ । गत साउन २८ गते बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका—१० स्थित ६७१/७ नम्बरको सीमास्तम्भ बगाएको हो ।

मुख्य ५ सहित सहायक र सानो गरि ७२ वटा सिमा स्तम्भ हराएको छ । हराएका ठुला ५, सहायक सीमा स्तम्भ ९ र सानो ५८ वटा रहेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताउनुभयो । गुलरिया—१० मा मुख्य सीमास्तम्भ ६७१ र ६७२ रहेको छ,’ उहाँले भन्नुभयो, ‘गुलरिया—७ को ६८१, मधुवन नपा—३ को ६९० र राजापुर नपा—१० को ६९३ सीमास्तम्भ हराएको छ ।’

प्रशासन र सशस्त्र प्रहरी बलले निरीक्षण गर्ने बेला जिल्ला संग जोडिएको ८३ किमी लामो सीमामा ठुला, साना स्तम्भ फेला परेको छैन । सशस्त्र प्रहरी बलको यहाँ स्थापना नहुँदै हराएको अनुमान गरिएको छ । डेढ दशक अघि जिल्लामा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । सीमा स्तम्भ हराएको जानकारी सरकारलाई गराएपनि यसबारे कुनै खोजीनिधी नभएको स्थानीयले बताएका छन् । ०७१, ०७४ र ८० को बाढीले सहायक र सानो गरि ३५ वटा बगाएको छ । बर्दिया संग जोडिएको भारतीय सीमाना करिब ८३ किमीमा २ सय ४५ सीमास्तम्भ रहेको छ । त्यस मध्ये मुख्य ४२, सहायक ६६ र साना १ सय ३६ सीमास्तम्भ रहेका छन् ।

मुख्य सीमास्तम्भ २६ वटा मर्मत गर्नुपर्ने अवस्थाको छ । मर्मत संभार नहुॅदा जिर्णो भएका स्तम्भ नम्बर चिन्ने अवस्थाको छैन । यसै गरि सहायक सीमा स्तम्भ ३६ र साना २ मर्मत गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिमा स्तम्भ हराएका कारण दुबै मुलुकको सिमाना छुट्टाउने दशगजा समेत देखिन छाडेको गुलरिया—१० का दिपक चौधरीले बताउनुभयो । सरकारले सीमामा हराएको स्तम्भ खोजी गरि पुनःस्थापना गर्न जरुरी रहेको उहाँले जनाउनुभयो ।

प्रजिअ रिसालले जिपीएस लोकेशन भएकोले कब्जा भएका,खोलाले कटान गरेको जग्गा दुबै मुलुकका कार्यदलले छुटउने बताउनुभयो । छिटै कार्यदलले सीमाना छुट्टाउदै नेपाली पक्षको जिम्मामा रहेको सीमास्तम्भको पुर्ननिर्माणको काम गर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया