मकवानपुरमा चिकित्सकमाथि कुटपिट गर्ने ४ जना पक्राउ

भाद्र २८, २०८० | काठमाडौं

मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै दुई जना चिकित्सकमाथि कुटपिट भएको थियो ।

घटनामा संलग्न रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु चारै जना मृतक राजेश प्रधानका परिवारका सदस्य हुन् । चिकित्सकमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि घटनालाई लिएर चौतर्फी आलोचना भएको थियो ।

घटनाको विरोधमा चिकित्सकले विरोधका कार्यक्रम घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हेटौंडा–१ स्थित सञ्चो अस्पतालका डा. विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिरामी हेरिरहेकै समयमा कुटपिट भएको थियो । एक महिनाअघि डेंगी संक्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारका क्रममा गत सोमवार चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

भदौ २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानलाई सञ्चो अस्पतालका चिकित्सकले भदौ २३ गते चितवन मेडिकल कलेजमा रेफर गरेका थिए । भदौ २५ गते उनको मृत्यु भएपछि परिवारका सदस्यले हिजो सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेका हुन् । 


प्रतिक्रिया