युवालाई उद्यममा आकर्षित गर्न रुपन्देहीमा तीन दिने बुट क्याम्प सञ्चालन

भाद्र २९, २०८० | तिलोत्तमा

युवालाई विदेश पलायन हुनबाट रोक्न र उद्यममा आकर्षित गर्न रुपन्देहीको तिलोत्तमा ‘बुट क्याम्प’ सुरु भएको छ । नेप्लिज योङ इन्टरप्रिनियर्स फोरम एन.वाई.इ.एफ रुपन्देही शाखाले आयोजना गरेको क्याम्प तीन दिनसम्म चल्नेछ । क्याम्पमा मुलुकभरबाट विद्यार्थी, विभिन्न उद्यम गरिरहेका युवा र नयाँ लगानीको सोच भएकाहरु क्याम्पमा सहभागी छन् । 

क्याम्पमा युवा उद्यमीको अनुभव साटासाट गरिनुका साथै मुलुकका विभिन्न व्यक्तिको अनुभव सुनाइने कार्यक्रम रहेको एन.वाई.इ.एफ रुपन्देही अध्यक्ष सन्देश श्रेष्ठले बताउनुभयो । सो क्रममा युवालाई उद्यम सम्बन्धी ज्ञानका साथै मुलुकमै स्वरोजगार कार्यक्रममा सहभागी हुन् उत्प्रेरणा प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सहभागिताका लागि साउन ३० गतेसम्म आवेदन आएका मध्येबाट अन्तवार्ता मार्फत २४ जनालाई छनोट गरेर क्याम्पमा राखी प्रशिक्षण दिने व्यवस्था गरिएको छ । ‘युवाहरु पलायन हुनुले यहाँको उद्यमशिलता विकास संकटमा पर्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘युवाको दायित्व मुलुकको अर्थतन्त्र उकास्ने हो । त्यसैले युवा पलायन रोक्ने वातावरण बनाउन क्याम्प आयोजना गरिएको हो ।’

सो क्याम्पमा मुलुकका विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने एन.वाई.इ.एफ रुपन्देही अध्यक्ष श्रेष्ठले बताउनुभयो । सन् २०१५ देखि काठमाडौंस्थित केन्द्रीय कार्यालयले यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको थियो । मुलुकका १२ वटा शाखामध्ये रुपन्देहीले पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । 

रुपन्देहीमा २०७१ सालमा एनवाइएफको शाखा स्थापना भएको थियो । यसअघि शाखाले सन् २०२१ र ०२२ गरी लगातार २ वर्ष युथ समिट आयोजना गरिसकेको श्रेष्ठले जानकारी दिनुभयो । युवाकै सहभागिता रहेको समिटमा वित्तीय क्षेत्र, उद्योग, विद्यालय लगायतमा आवद्ध युवा उपस्थित थिए । उनीहरुलाई उद्यमशिलतामा कसरी लाग्ने, यसको लगानी वृद्धि एवं उद्योग बढाउने विषयमा तालिम दिइएको थियो । यस्तो समिट यस वर्ष पनि आयोजना गरिने श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया