संघीयतालाई लिएर आलोचना भयोः मुख्यमन्त्री पाण्डे

आश्विन ७, २०८० | काठमाडौंं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताका विषयमा प्रष्ट धारणा नभएकै कारण आलोचना हुन थालेको बताउनुभएको छ । कंग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा संघीयतामाथि भइरहेको बहसको प्रसंगमा मुख्यमन्त्री पाण्डेले संघीय संरचनाबारे पार्टीले आफ्नो धारणा बनाउन नसक्दा प्राप्त उपलब्धी गुम्ने जोखिम रहेको बताउनुभयो ।

संघीयताका विषयमा चौतर्फी आक्रमण भइरहेकाले पार्टीले स्पष्ट धारणा बनउनुपर्ने उहाँको सुझाव छ । संघीयता लागू भए पनि प्रदेश सरकारले अत्यावश्यक कानून बनाउन नसक्दा प्रदेश सरकारले काम गर्न अप्ठ्यारो भएको बताउनुभयो ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य विनोद चौधरीले पुरानो शैलीको नेतृत्वले नयाँ पुस्ताका मतदाताको आकांक्षा अनुरुप पार्टीलाई अघि बढाउन नसक्ने बताउनुभयो । चौधरीले पार्टीमा विगतको योगदानलाई मात्रै हेरेर नेताहरुलाई मौका दिँदा क्षमतायुक्त व्यक्तिहरुले अवसर नपाएको गुनासो गर्नुभयो ।

कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताउनुभयो । समितिको बैठकमा बोल्दै पौडेलले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउनुभयो ।

कंग्रेसको कार्यसमिति बैठकको तेस्रो दिन आज ३१ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राखेका छन् । बैठक भोलि पुनः ११ बजे बस्ने कंग्रेसले जनाएको छ । 


प्रतिक्रिया