सुन तस्करी प्रकरणबारे सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच छलफल

आश्विन ७, २०८० | काठमाडौंं

सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको बिषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच छलफल भएको छ ।

एक महिनाअघि आयोग गठन गर्ने सहमति भएपनि क्षेत्राधिकारमा भने मतभेद हुँदा गठबन्धन र एमालेबीच आयोग गठनको विषयमा सहमति जुट्न सकेको छैन । दलहरुबीच आयोग गठन गर्ने र क्षेत्राधिकार के–के हुने भन्ने विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

आजको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी भएका थिए । बैठकपछि नेताहरुले छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफलमा एमाले सकारात्मक भएपनि त्यसबारे शीर्ष नेतृत्वसँग छलफलपछि मात्रै अन्तिम निर्णय दिने भनेपछि छलफल निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।

गठबन्धन र एमालेबीच अब बन्ने आयोगले पछिल्लो घटनामा शुन्यबाट अनुसन्धान गर्ने वा यसअघि सीआईबीले गरेको अनुसन्धानलाई टेकेर थप अनुसन्धान अघि बढाउने भन्ने विषयमा सहमति भएको छैन । बैठकपछि एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश स्पष्ट हुनुपर्ने अडान राखेको बताउनुभयो । 


प्रतिक्रिया