रुपन्देहीको जनता माविमा भवन निर्माण सम्बन्धी विषय पढाइ हुने

आश्विन १३, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यामिक विद्यालयमा भवन निर्माण सम्बन्धी प्राविधिक विषयको पढाइ हुने भएको छ । जनता माविले शुक्रबार पत्रकार सम्मेलन गरी प्राविधिक शिक्षालाई जनस्तरमा पुर्‍याउन भवन निर्माण सम्बन्धी नयाँ कोर्ष सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । 

विद्यालयका अनुसार प्राविधिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) बाट मान्यता प्राप्त २४ महिने निःशुल्क औद्योगिक प्रशिक्षण तालिम विषयको कोर्ष सभ–ओभरसियर बराबर मान्यता प्राप्त हो । विद्यालयका प्रधानाध्यापक प्रचण्ड जीसीले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर यो कोर्स सुरु गर्न लागिएको बताउनुभयो । यस कोर्सले दक्ष जनशक्ति उत्पादन हुनुका साथै शतप्रतिशत रोजगार हुने उहाँले बताउनुभयो ।

प्रधानाध्यापक जीसीका अनुसार २० जनाको कोटा रहेको सो तालिममा सहभागी हुनका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ । अध्ययन सुरु भएपछि विद्यार्थीलाई हरेक दिन विद्यालयले एक सय रुपैयाँ प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । ‘यो विषय लुम्बिनी प्रदेश सरकारको स्वीकृत बजेट अनुसारको पूर्णतया निःशुल्क कार्यक्रम हो’, जीसीले भन्नुभयो, ‘यो विषय पढने विद्यार्थीले विद्यालय र उद्योग दुवैमा सीप सिक्नुका साथै पढदै आय आर्जन गर्न सकिन्छ ।’

प्रधानाध्यापक जीसीका अनुसार यो विषयको अध्ययन पूरा गरेपछि विद्यार्थीलाई प्रि डिप्लोमाको प्रमाणपत्र समेत प्रदान गरिनेछ । यो विषय लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १५ विद्यालयले मात्र पठनपाठनको अनुमति पाएका छन् । माध्यामिक शिक्षा परीक्षा एसईईमा जुनसुकै प्रतिशत र ग्रेडबाट उत्तीर्ण भएका १६ देखि ४० वर्ष उमेर समूहका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने जीसीले जानकारी दिनुभयो ।

जीसीका अनुसार विद्यालयमा साढे तीन महिना तथा उद्योगमा साढे १९ महिना काम र पढाई यो विषय अन्तर्गत पर्छन् । पत्रकार सम्मेलनमा तिलोत्तमा–१३ का वडा अध्यक्ष नारायण ढकालले अबको शिक्षा प्राविधिक हुनुपर्ने भन्दै औद्योगिक तालिम कार्यक्रमको रुपन्देहीका विद्यार्थीहरुले भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयले २०७५ देखि प्राविधिक विषय भित्राउन सुरु गरेको थियो ।

उद्योगमा काम गर्दा पनि विद्यार्थीलाई मासिक न्यूनतम ४ हजार ५ सय रुपैयाँ दिनुपर्ने व्यवस्था मिलाईले विद्यालयले जनाएको छ । यो विषय अध्ययनका लागि २५ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई विशेष प्राथामिकतामा राखिएको विद्यालयले जनाएको छ ।


प्रतिक्रिया