एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुँदै

आश्विन २३, २०८० | कैलाली

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । कमिटीको अध्यक्षका लागि कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचन बहादुर सिंह र भरत साउदको उम्मेद्वारी परेको छ । धनगढीमा जारी अधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले अध्यक्षका आकांक्षी र प्रदेशबाट नेतृत्व गर्ने अगुवा नेता कार्यकर्ताहरुसंग सहमतिको प्रयास गर्नुभएको थियो । तर सहमतिको प्रयास विफल भएपछि निर्वाचनको प्रक्रिया सुरु गरिएको हो ।

अधिवेशनमा वर्तमान अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सचिव लेखराज भट्टको समर्थन तिमिल्सिनालाई र कर्णबहादुर थापा समूहको समर्थन जैसीलाई रहेको स्रोतको भनाइ छ । उम्मेद्वारको प्रारम्भिक नामवलीको प्रकाशन अहिले केही बेरपछि गरिने भएको छ ।

अन्तिम नामवली प्रकाशन साढे २ बजेको समय निर्धारण गरिएको निर्वाचन कमिटीले जनाएको छ । मतदान भने साँझ ५ बजेबाट सुरु हुनेछ । ६ सय ७५ प्रतिनिधि सहभागि अधिवेशनबाट १ सय ५५ सदस्यीय प्रदेश कमिटि चयन हुने एमालेले जनाएको छ ।   


प्रतिक्रिया