होटल पौवामा कात्तिक १७ गते 'सराय नाच' देखाइने

कार्तिक ३, २०८० | तिलोत्तमा

नेपाली लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमास्थित होटल पौवाले सराय नाच प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणमा टेवा पुर्याउने उद्देश्यले कात्तिक १७ गते होटल पौवाको योगिकुटी शाखामा सराय नाच देखाइने भएको हो । 

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लामा नाचिने सराय नाचलाई सांस्कृतिक पहिचान दिन यस वर्षदेखि होटल पौवाको बुटवल शाखाबाट प्रारम्भ गरिने प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो । 

त्यस्तै, होटल पौवाले यो वर्षको दशैंलाई उत्सवको रुपमा मनाउन तीन वटा शाखामा परम्परागत लिङ्गे पिङ समेत राखेको छ । नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । 

‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थल सहित देशभर १२ स्थानबाट सेवा दिइरहेको छ । 

कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको शाखा कार्यालय सञ्चालनमा रहेका छन् । 

पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको छ ।


प्रतिक्रिया