गण्डक नहरमा यस वर्ष भारतले पठायो सम्झौता भन्दा बढी पानी

कार्तिक २४, २०८० | पर्सा

गण्डक नहरमा यसवर्ष भारतीय पक्षले सम्झौता भन्दा पनि बढी पानी नेपाललाई दिएको छ । धान बाली सिजनका लागि यसवर्ष भारतीय पक्षले गत भदौ दोश्रो सातादेखि नहरमा ८ सय ५७ क्युसेक पानी दिएको थियो ।

 गण्डक नहरको इतिहासमा भारतीय पक्षले पहिलो पटक सम्झौता भन्दा बढी पानी दिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहले बताउनुभयो । गण्डक नहर सम्झौता अनुसार भारतले नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्छ । 

तर, उसले यसवर्ष सम्झौता भन्दा बढी पानी दिएको हो । यस वर्ष सम्झौता अनुरुपनै अक्टोबर २५ सम्म भारतीय पक्षले नहरमा पानी दिएको थियो । 

पानीको पर्याप्तता भएपछि नहरको १४ नम्बर ब्लक अर्थात रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डको बम नहरसम्मै पानी पुगेको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका इन्जिनियर साहले जानकारी दिनुभयो । उहाँका अनुसार नहरको कुल १५ मध्ये १४ ब्लकमा यसवर्ष पानी पुगेको हो । 


प्रतिक्रिया