रुपन्देहीमा देउसी भैलो खेल्नेलाई ५०१ रुपैयाँ दक्षिणा

कार्तिक २६, २०८० | तिलोत्तमा

रुपन्देहीमा देउसी भैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँ भन्दा धेरै दक्षिणा नदिन स्थानीय प्रशासनले निर्देशन दिएको छ । 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार देउसी भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने छ । 

तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया