रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते

मंसिर १, २०८० | तिलोत्तमा

रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १२ बजे देवदह नगरपालिका–८ भलुहीमा बस दुर्घटना भएको हो ।

दाङबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख २१३१ नम्बरको बस सडकबाट ४ मिटर तल पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । 

अर्को बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको डीएसपी भट्टले बताउनुभयो । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया