घडिअर्वा छठ घाटको व्यवस्थापनमा मात्रै १५ लाख बढी खर्च

मंसिर २, २०८० | पर्सा

देशकै सर्वाधिक तथा ठूलो मानिएको वीरगञ्जस्थित घडिअर्वा पोखरी छठ घाटको व्यवस्थापनमा मात्र यस वर्ष १५ लाख ४१ हजार रुपैयाँ खर्च गरिँदैछ । पोखरीस्थित छठ पूजा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी घाटको व्यवस्थापनको बारेमा जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा समितिका सचिव लखनलाल गुप्ताले यस वर्ष समितिको अनुमानित आम्दानी २३ लाख ७६ हजार ४ सय ९५ रुपैयाँ र खर्च १५ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको बताउनुभयो । 

यस वर्ष ८ लाख ३४ हजार ९ सय ९५ रुपैयाँ बचत हुने अनुमानित आयव्यय प्रतिवेदन उहाँले प्रस्तुत गर्नुभयो । यस वर्ष टेन्ट, पण्डाल सजावट, बत्ती, साउण्डमा ७ लाख ५१ हजार रुपैयाँ खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

गत वर्ष यो घाटको व्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय ७५ रुपैयाँ खर्च भएको थियो । समितिको आम्दानी चिठ्ठा, व्यानर र विज्ञापनबाट हुने गरेको छ ।

यस बाहेक वीरगञ्ज महानगरपालिकाको कार्यालयले ५० हजार रुपैयाँ सहयोग र गत वर्षको आम्दानी मौज्दात ५ लाख १ हजार ४ सय ९५ रुपैयाँ रहेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । 

पत्रकार सम्मेलनमा समिति अन्तर्गतको सुरक्षा समितिका संयोजक मुन्ना साह कलवारले घाटको सुरक्षा व्यवस्था मिलाउन यस वर्ष पनि घाटमा वन वे बाटो बनाइएको जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५०/५० जवान घाटमा सुरक्षार्थ खटिने छन् ।

सादा पोशाकका पनि केही प्रहरी खटिने भएका छन् । यस बाहेक समितिका २ दर्जन बढी स्वयम् सेवक पनि सुरक्षार्थ खटिने भएका छन् । ती मध्ये आधा महिला स्वयम्सेविका हुनेछन् । घाटको सबै क्षेत्रमा गरी २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको र क्यामेराबाट पनि घाटको नियमित अनुगमन गरिने कलवारले बताउनुभयो ।

यस वर्ष घाटमा अनुमानित ५ हजार व्रतालु र करीब २ लाख जनाको आवागमन हुने उहाँको भनाई छ । भैपरी आउने दुर्घटनालाई न्युनिकरण गर्न वारुण यन्त्र, एम्बुलेन्स, रेडक्रसको प्राथमिक उपचार कक्ष, सशस्त्र प्रहरीको गोताखोरको टोली पनि तैनाथ गरिने छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । 


प्रतिक्रिया