गैंडा मारी खाग विक्रि गर्ने ८ जना सार्वजनिक

मंसिर १४, २०८०

खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका आठजनालाई चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ । गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालयले जनाएको छ । 

मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्टका ३३ वर्षे रमेश खाती मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती–९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुर मनहरी–६ नयां बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ–९ मुल घर भइ हेटौंडा–४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने योजनाकार भएको बताएको छ । उनीहरू दुबै जना ९ गते नै राप्ती–६ बाट समातिएका हुन् । 

गैंडाको खाग पनि राप्ती–६ मा नै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो । निकुञ्जले राप्ती–११ का ४२ वर्षे पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउंपालिका–६ फागम घर भइ मकवानपुर हेटौंडा–५ बस्ने २८ वर्षे अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर–११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बांदरझुला बस्ने ५६ वर्षीय इन्ऽबहादुर तमाङलाई सार्वजनिक गरेको हो । 

उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नौ गते समातिएका हुन् । अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयांसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया