सुदूरपश्चिममा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु

मंसिर २८, २०८०

सुदूरपश्चिम प्रदेशमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ । नेपाल सरकार, युरोपेली संघ र सयूक्त राष्ट्र संघीय निकायहरु युनिसेफ, युएनएफपिए, युएन वुमन र आइएलओले सयूक्त रुपमा चार वर्ष अवधिको सो कार्यक्रम सुरु गरेका हुन् । कार्यक्रम अन्तर्गत लैङ्गिक समानता एवं महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । 

लैंगिकतामा आधारित हिंसाको रोकथाम, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, लैंगिक उत्तरदायी शासन र सामाजिकसंगै आर्थिक रुपमा सबल बनाउने उद्देश्यले परियोजना सुरु गरिएको बताइएको छ । सुदूरपश्चिममा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउंपालिका, डोटीको जोरायल गाउंपालिका र दिपायल शिलगढी नगरपालिका, बझाङका दुर्गाथली, मष्टा र खप्तडछान्ना गाउंपालिका, बाजुराको बडिमालिका नगरपालिका र कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यक्रम लागु भएको सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीले बताउनुभयो । 

मधेश प्रदेश र कर्णाली प्रदेशसहित तीन वटै प्रदेशमा गरि ३२ वटा स्थानीय तहमा चार वर्षसम्म कार्यक्रम सञ्चालन हुने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव ममता बास्तोलाले बताउनुभयो ।


प्रतिक्रिया