लमजुङको कालिका सहकारी ठगी प्रकरणका मुख्य दोषी घिमिरे पक्राउ

पुस २२, २०८० | लमजुङ

लमजुङ सदरमुकाम बेंसीसहरको कालिका सहकारी ठगी प्रकरण्मका फरार मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा घिमिरेलाई आज दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष घिमिरेविरुद्ध जिल्ला अदालतमा सहकारी कसुर ऐन र ठगी गरी २ वटा मुद्दा चलिरहेको छ । 

अर्का मुख्य दोषी मानिएका घिमिरेपत्नी विनिता अधिकारी घिमिरे भने अझै फरार रहेको प्रहरीले जनाएको छ । उनी कालिका सहकारीका संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष समेत हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले काठमाडौमा पक्राउ परेका घिमिरेलाई सोमबारसम्म लमजुङ ल्याइपु¥याउने बताउनुभयो ।

सहकारी ऐन कसुर अन्तर्गतको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारीसम्बद्ध सुरुमा ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा ६ जनालाई मंसिर १० गते पक्राउ गरेको थियो । त्यतिबेलादेखि घिमिरे दम्पत्ति फरार भएका हुन् । सहकारी ठगी प्रकरणमा २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा १ जनालाई गत मंसिर १७ गते पक्राउ गरिएको थियो । 


प्रतिक्रिया