पाल्पाको रानी महल जाने सडक ४८ दिन बन्द हुने

तानसेनदेखि रानीमहल सडक । तस्बिर : माधव अर्याल/रेडियो कान्तिपुर 

माघ १५, २०८० | पाल्पा

पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक मर्मतका लागि पर्सि बुधबारदेखि करीब दुई महिना बन्द हुने भएको छ ।

सडकको हात्तीढुंगा नजिक बैकुण्ठे भीरमा ढलान कार्य गर्नका लागि माघ १७ गते बुधबारदेखि आगामी चैत ५ गतेसम्म यातायात आवागमन बन्द हुने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । 

रानीमहल जाने सवारी साधन २४ घण्टा नै पूर्ण रुपमा बन्द हुने भएकाले सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको कार्यालय प्रमुख बासुदेव भण्डारीले बताउनुभयो ।

‘पहिलो चरणमा बैकुण्ठे भीर नजिकै ढलान कार्य गर्न लागिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि काम गर्न २० र ढलान पछिको २८ दिनको समय बन्द गर्ने निर्णय भएको हो ।’ 

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान कार्य गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायी, सरोकारवाला कार्यालय, निर्माण व्यवसायी समेतको उपस्थितिमा सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको हो । 

तानसेनदेखि १५ किलोमिटर दूरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि सडक कच्ची र अप्ठ्यारो भीर रहेको छ ।

आर्यभन्ज्याङ–रामपुर सडक पनि बन्द

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गदेखि पाल्पाको पूर्वभेग जोड्ने मुख्य मार्ग आर्यभन्ज्याङ–रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द गर्ने जनाएको छ ।

हुमिन–ताहुँ देउराली सडक खण्डमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गर्न माग गरेपछि राजमार्ग सडक सुरक्षा समितिको बैठकले बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो । 

बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ । हुमिन–ताहुँ देउराली सडकखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम भइरहेकाले माघ १७ देखि बुधबारदेखि फागुन १६ गतेसम्म सडक बन्द रहने कार्यालयले जनाएको छ । 

सडक चौडा गर्ने र ढुंगामाटो कटिङ गर्नका लागि बन्द गर्न लागिएको हो । एम्बुलेन्स, शव वाहन, सुरक्षा, दमकल जस्ता अत्यावश्यक सवारी साधनलाई समय मिलाएर छाड्ने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया