मुगुको खत्याडका आगलागी पीडितलाई राहत वितरण

माघ २९, २०८० | मुगु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला बस्तीका आगलागी पीडित परिवारलाई राहत समाग्री उपलब्ध गराइएको छ । 

आगलागीबाट घरसहित दुई जना सन्तान गुमाएका ४० वर्षीय लालु सञ्ज्याल, नरदिप सञ्ज्याल र दिपराज सञ्ज्यालको परिवारलाई विभिन्न संघसंस्था, रेडक्रस र स्थानीय तहबाट राहत उपलब्ध गराइएको खत्याड–२ का वडा अध्यक्ष हेमराज मल्लले बताउनुभयो । 

आगलागीबाट तीन दाजुभाइ लालु, नरदीप र दिपराज सञ्ज्यालको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

गाडेखोलाका तीन दाजुभाइको घरमा आगलागी हुँदा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको जलेर मृत्यु भएको थियो । 

पीडितलाई मानव अधिकार तथा वातावरण विकास केन्द्रले १ लाख रुपैयाँ बराबरको भाडाकुडा र कपडा लगायतका समान हस्तान्तरण गरेको हो । 

यस्तै, छायाँ नेपाल नाम संस्थाले ७५ हजार रुपैयाँ बराबरको खाद्यन्न, कपडा, त्रिपाल तथा बाल अनाथ आश्रमका सञ्चालक अमराज बानियाँले ७५ हजार र स्थानीय लक्ष्मण दाहालले ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । 

परिर्वतन कृषि सहकारी संस्थाले १० हजार, नेपाल रेडक्रस, खत्याड गाउँपालिका–२ वडा कार्यालय र पालिकाबाट खाद्यन्न, कपडा लगायत राहत उपलब्ध गराइएको वडा अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

आगलागी पीडित तीन जना परिवार अहिले आफन्तको घर शरण लिएर बस्न बाध्य भएका छन् । पुर्नवासको ब्यवस्था गरिदिन पीडित परिवारले पालिका र प्रशासन समक्ष आग्रह गरेका छन् ।


प्रतिक्रिया