जाजरकोट भूकम्प प्रभावित ६८ हजार बालबालिकालाई तत्काल मानवीय सहायता आवश्यकः युनिसेफ

Photo:UNICEF NEPAL 

माघ २९, २०८० | काठमाडौं

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जाजरकोट भूकम्पबाट प्रभावित भएका झन्डै ६८ हजार बालबालिकालाई तत्काल मानवीय सहायता आवश्यक भएको जनाएको छ ।

युनिसेफ नेपालले विज्ञप्ती जारी गर्दै गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको १ सय दिन पुग्दा ६८ हजार बालबालिका सहित उनीहरुको परिवार समेत प्रभावित भएको बताएको छ । युनिसेफका अनुसार प्रभावित बालबालिकाको पुर्नस्थापनाका लागि एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ भन्दा बढीको आवश्यकता देखिएको छ ।

सो संस्थाले बालबालिकालाई थप आर्थिक सहयोग गरेर पुर्नस्थापित गरेर जीवन रक्षा गर्न सरोकारवाला पक्षलाई आग्रह समेत गरेको छ । यसैबीच, युनिसेफका अनुसार जाजरकोट र रुकुम पश्चिम गरेर भूकम्पमा १ सय ५४ जनाको मृत्यु भएकोमा ती मध्ये ८१ जना बालबालिकाको मृत्यु भएको छ ।

त्यस्तै, बालबालिका जाडोको मौसममा अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै युनिसेफले पुर्नस्थापनाका लागि समेत मानवीय सहायता तत्काल उपलव्ध गराउनुपर्ने बताएको छ । भूकम्पबाट दुई जिल्लामा गरी ८ सय ९८ विद्यालयमध्ये २ सय ९४ पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

युनिसेफले विद्यालय भवन क्षतिग्रस्त हुँदा १ लाख ३४ हजार बालबालिका प्रभावित भएकोमा १७ हजार बालबालिका २ सय २३ अस्थायी सिकाइ केन्द्रमा गइरहेको बताएको छ । 


प्रतिक्रिया