मुगुमा कारागार नहुँदा १ सय ४२ कैदी जिल्लाबाहिर

फाल्गुन ६, २०८०

मुगु जिल्लामा कारागार भवन नहुँदा कैदीबन्दी राख्न समस्या भएको छ । कारागारको समस्याले ११ बर्षको अवधि भित्र मुगुका १ सय ४२ कैदीबन्दीलाई जिल्ला बाहिर चलान गरिएको छ । जिल्लामा कारगार नहुँदा त्यहाँका कैदीलाई जुम्ला, सुर्खेत, बाँके, बर्दिया तथा दाङका कारागारमा राख्नु पर्ने जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयले जनाएको छ । 

मुगुका कैदीबन्दीलाई थुनामा राख्न जिल्ला बाहिर चलानी गर्नु पर्दा सुरक्षाकर्मीलाई समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बीरेन्द्र थापाले बताउनुभयो । सुरक्षाका दृष्टीकोणले पनि कैदीबन्दीलाई जिल्ला बाहिर चलानी गर्दा गाह्रो परिस्थिति उत्पन्न हुने गरेको उहाँको भनाई छ । 

एक जना कैदीबन्दीलाई जिल्ला बाहिर लैजान कम्तीमा ९ जना सुरक्षाकर्मीसँगै जानु पर्ने भएकाले यसले आर्थिक भार थपिएको जिल्ला कारागार कार्यालयले जनाएको छ । जिल्ला कारागारका अनुसार ११ बर्षमा १ सय ४२ कैदी जिल्ला बाहिर चलान भएका छन् ।


प्रतिक्रिया