एमालेको जारी केन्द्रीय कमिटी बैठक आज सकिँदै

फाल्गुन १०, २०८० | काठमाडौं

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि समूहगत छलफलको निष्कर्ष आज प्रस्तुत हुँदैछ । हिजोको बैठकमा शुद्धीकरण र सुदृढीकरण, जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती, संगठन र जनपरिचालन सम्बन्धी लगायत प्रस्तावमा नौ समूहभित्र छलफल सकिएको थियो ।

पार्टी सुदृढीकरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली सुधार हुनुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, सदस्यता वितरणमा निश्चित योग्यता हेर्नुपर्ने लगायतका सुझाव नेताहरुले दिएका थिए ।

यस्तै, सरकारको कार्यशैली, महँगी, बेरोजगार, युवाहरुको विदेश पलायन लगायतमा मुद्दा बनाएर जनपरिचलान गर्नुपर्ने सुझाव केन्द्रीय सदस्यले दिएका दिएका थिए । 

ललितपुरको च्यासस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा नौ समूहका टोली नेताले समूहगत सुझावको सार प्रस्तुत गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।

प्रस्तावमा मुलुकमा देखिएका समस्या, पार्टीभित्रको चुनौतीलाई सामना गर्न विगतमा लिएका निर्णय कार्यान्वयन हुन नसकेको उल्लेख थियो ।

समूहगत छलफलबाट आएका सुझाव एवं धारणबारे अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि बैठक आजै सम्पन्न हुने उपाध्यक्ष शाक्यले जानकारी दिनुभयो ।


प्रतिक्रिया