राष्ट्रियसभाको एउटा चक्र पूरा

फाल्गुन २०, २०८० | काठमाडौं

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा २० जना सांसदको ६ वर्षे कार्यकाल आज सकिदैछ । राष्ट्रिय सभाका ५९ जना सदस्य मध्ये गोलाप्रथाबाट ६ वर्षको कार्यकाल निर्धारण भएका २० सांसदको पदावधि आज सकिन लागेको हो । ती सांसदको बिदाइका लागि संसद सचिवालयले आज साँझ कार्यक्रमको आयोजना गरेको छ ।

गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएर आएका राष्ट्रिय सभाका सदस्यको कार्यकाल भोलिबाट सुरु हुने भएकाले पुराना सांसदको बिदाइ गर्न लागिएको हो । राष्ट्रिय सभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित २० सांसदको कार्यकाल सकिँदैछ । पदावधि सकिन लागेका सांसदमा एमालेबाट तिमिल्सिना सहित विमला राई पौड्याल, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुनुहुन्छ ।

त्यस्तै, नेपाली कांग्रेसका चार जना सांसद रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्र नारायण देव र प्रकाश पन्थ पनि पदावधि सकिदैछ । माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल आज सकिनेछ । त्यस्तै, एकीकृत समाजवादीबाट नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि आज सकिदैछ । माघ ११ गतेको निर्वाचनबाट १९ जना सांसद निर्वाचन भएर आएका थिए भने राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।


प्रतिक्रिया