राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यद्वारा शपथ ग्रहण

फाल्गुन २१, २०८० | काठमाडौं

राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यले शपथ लिएका छन् । संघीय संसद भवनको लोत्सेहलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । रिक्त २० मध्ये गत माघ ११ गतेको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जनता समाजवादी पार्टीका एक÷एक सदस्यले शपथ लिनुभएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक जना सदस्यको भने अझै टुंगो लागेको छैन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट छन् ।

माओवादीबाट रेनु चन्द, विष्णुबहादुर विश्वकर्मा, झक्कु सुवेदी, मनरुपा शर्मा र श्रीकृष्ण अधिकारी छन् । यस्तै, एकीकृत समाजवादीका सावित्री मल्ल र घनश्याम रिजाल विश्वकर्मा, जनता समाजवादी पार्टीकी पूजा चौधरी र एमालेकी रुक्मणी कोइराला निर्वाचित हुनु भएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित २० सदस्य भने आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया