बाघ नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुन्जबाट टोली खटियो

फाल्गुन २२, २०८०

पर्साको पटेर्वासुगौली गाउंपालिका २ मा बाघ नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुन्जबाट प्राविधिक टोली हिजोदेखि घटनास्थलमा खटिएको छ । डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, चितवनबाट आएको टोली बाघ रहेको सम्भावित स्थलहरुमा खटिएको हो ।

स्थानीयले देखेको तथा आक्रमणमा परेका स्थानीयहरुको सूचनाको आधारमा बाघ बसेको राष्ट्रिय वनको सम्भावित क्षेत्रहरुमा सुक्ष्म अनुगमन गरी रहेको उहांले बताउनुभयो । बाघको गतिविधि देखिएको क्षेत्रमा क्यामेरा ट्रयापिङका लागि क्यामेरा जडान गरेर पनि अनुगमन गरिने उहांको भनाई छ । 

बाघ फेला परेपछि डार्ट गरेर लठ्याउने र नियन्त्रणमा लिने प्रयोजनले टोलीले खोर समेत लिएर गएको साहले बताउनुभयो । राष्ट्रिय वनसंग जोडिएको सो क्षेत्रमा करीब एक महिना देखि बाघ देखापरेको र सो बाघले स्थानीयको चौपाया खाने र केहीलाई आक्रमण गरी घाइते समेत बनाएपछि बाघ नियन्त्रणको माग सहित स्थानीयले दबाब दिदैं आएका थिए । 


प्रतिक्रिया