रुपन्देहीको सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य वस्तुको तस्करी बढ्दो

चैत्र ३, २०८० | भैरहवा

रुपन्देहीको सिमावर्ती क्षेत्रमा भारतबाट दैनिक उपभोग्य वस्तुदेखि मानवीय उपयोगका सामानको तस्करी बढ्दै गएको छ । एक महिनायता प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि दैनिक सामान बरामद र संलग्नहरु पक्राउ पर्न थालेका छन् । 

जिल्ला प्रहरी र मातहत कार्यालयबाट शुक्रबार खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट भन्सार छलेर भित्र्याइएर गोदाम गरेको अवस्थामा साढे १० लाख रुपैयाँ बराबरको २ सय ९० बोरा प्याज बरामद गरेर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

जिल्ला प्रहरीबाट शुक्रबार खटिएको टोलीले सिद्धार्थनगर–६, गल्लामण्डीबाट भन्सार छलेर भित्र्याइएको २ क्विन्टल प्याज, चार बोरा खुर्सानी, एक बोरा लौका र दुई कार्टुन भिण्डी बरामद गरिएको जनाएको छ । 

गत बिहीबार इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–३, मा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा चार बोरा चिनी बरामद गरिएको जनाएको छ । यस्ता सामाग्री दैनिक बरामद हुनुले जिल्लाको मूल भन्सार नाका बेलहियाबाट तस्करी नभएपछि ग्रामीण क्षेत्रबाट मानव उपयोगका सामान भन्सार छलेर भित्र्याउने गरिएको पुष्टी हुन्छ । 

‘प्रहरीको सम्पूर्ण ध्यान चोरी तस्करी नियन्त्रणमा केन्द्रित छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रन्जितसिंह राठौरले भन्नुभयो, ‘ग्रामीण क्षेत्रका खुला नाकामा निगरानीका लागि प्रहरी परिचालन गरेका छौं ।’

एसपी राठौरका अनुसार एक महिना यता तस्करीका सामान बरामद र कारोबारमा संलग्नलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत बिहीबार सम्मरीमाई–७, हर्दीबाट लु १ च १५९० नम्बरको पिकअप गाडीसहित सामान बरामद गरिएको थियो । 

बिहीबार नै सिद्धार्थनगर–१ बाईपास स्थितमा भारत जिल्ला महाराजगञ्ज थाना सुनौली ग्राम तिलावा बस्ने वर्ष–३२ कोजग्गु शाहानीले चलाएर ल्याएको साइकलमा ८४ हजार रुपैयाँ मूल्यको करीब ५६ किलो तामाको तार बरामद गरेको जनाएको छ ।

एक साता अघि ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१, बाइपासचोक स्थितबाट झाडु थान–५९, हर्बल न्युट्रेशन फार्मुला ३ थान बरामद गर्‍यो । 

भैरहवास्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले गत बुधवार ओमसतिया–२, पड्सरीस्थित पुनम पथमा बेवारिसे अवस्थामा साढे ६७ हजार मूल्यको ७५ थान साडी बरामद गर्‍यो । 

गत फागुन ३० गते जिल्ला प्रहरीको टोलीले देवदह–११, सिक्टहनबाट ओमसतिया–५, गौरीका गुल्जार अहमद मुसलमानलाई लु ८ प ५९१९ नम्बरको मोटरसाइकलमा भित्र्याएका ६४ गोटा बोइलर कुखरा, मोटरसाइकल सहित नियन्त्रणमा लियो । यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् ।

पछिल्लो समय तस्करी नियन्त्रणका लागि चौबिसै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष (डीएसपी) मनोहरप्रसाद भट्टले बताउनुभयो । 

‘हामीले चौबिसै घण्टा सीमा क्षेत्रमा विशेष निगरानी बढाएका छौं, कुनै पनि हालतमा अवैध रुपमा सामान नभित्रियोस् र कानूनले वर्जित गरेका गतिविधि नहोस् भन्नेमा प्रहरीको ध्यान पूर्णरुपमा केन्द्रित छ’, डीएसपी भट्टले भन्नुभयो, ‘जिल्लाभर रहेका हाम्रा युनिटहरु परिचालित छन् । सबै युनिटले अवैध गतिविधि र कार्यलाई निस्तेज पार्दै आएका छन् ।’

उहाँका अनुसार एक महिनामा ७६ लाख ६५ हजार १०६ रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । प्रहरीका अनुसार एक महिनामा चोरी तथा तस्करीमा प्रयोग भएका १३ वटा मोटराइकल, एउटा पिकअप भ्यान, ३ वटा ट्रक र एउटा ट्याक्टर प्रहरी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सारमा पठाएको छ । 

३८ वटा गोरु र ३ बाख्रा, ब्रोइलर कुखुरा ७६२ ओटा, माछा २७० केजी पनि नियन्त्रणमा लिएर क्वारेन्टाइन कार्यालय पठाइएको छ । नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको एउटा ट्याकटर ढुङ्गासहित बुटवल कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया