नयाँ वर्ष २०८१ प्रारम्भ, शुभकामना आदानप्रदान गरी मनाइँदै

वैशाख १, २०८१ | काठमाडौं

आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत् २०८१ साल प्रारम्भ भएको छ । देशैभर नयाँ वर्षको उल्लास छाएको छ । 

नयाँ वर्ष सुरु भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । 

सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने चलन पनि छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । 

यस्तै, विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ । 

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । मल्ल कालदेखि नेपालमा मौलिक संवतका रूपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ । 


प्रतिक्रिया