लमहीदेखि रोल्पा पुर्‍याउने बिजुलीको मुख्य लाइन चुँडियो, दुई जिल्ला अन्धकार

जेष्ठ २१, २०८१ | रोल्पा

राष्ट्रिय प्रसारण लाइन अन्तर्गत दाङको लमहीदेखि रोल्पा र प्युठान पुर्‍याउने मुख्य लाइन चुँडिदा दुई जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको रोल्पा वितरण केन्द्रका अनुसार शनिबारको हावाहुरीले बिजुरीको तार चुँडिदा रोल्पा र प्युठान अन्धकार भएका छन् । 

वितरण केन्द्र प्रमुख अशेश्वर साहका अनुसार तार चुँडेको स्थान प्युठानस्थित विद्युत प्राधिकरण कार्यालय र बुटवल पावर कम्पनीको संयुक्त टोलीले आइतबार दिउँसो मात्रै पत्ता लगाएको हो । 

‘दाङको लमही र प्युठानको सीमा नजिकै मुख्य लाइन चुँडेको छ’, उहाँले भन्नुभयो, ‘बनाउन समय लाग्छ ।’ लमहीदेखि रोल्पा र प्युठानसम्म १ सय ३२ केभीको विद्युतीय लाइन ल्याइएको छ । 

विद्युत सेवा अवरुद्ध हुँदा दुबै जिल्लाका सरकारी कार्यालयको काम प्रभावित भएको छ । बिजुली नहुँदा जिल्ला प्रशासन कार्यालयले राहदानी र नागरिकता लगायत महत्वपूर्ण कागजात वितरण रोकिएको रोल्पा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदम डाँगीले बताउनुभयो । 

रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बिजुली नै नभएपछि अनलाइन मार्फत गरिने काम रोक्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली नभएकोले आइतबार मध्याह्नदेखि दैनिक काम रोक्नु परेको छ ।’

विद्युत आपूर्ति बन्द हुँदा जिल्लाका उद्योग, व्यवसाय, बैंकिङ क्षेत्र, विद्यालयको काम समेत प्रभावित भएको हो । नेपाल विद्युत प्राधिकरण रोल्पा केन्द्रले निरन्तर काम भएमा सोमबारसम्म लाइन जोड्न सकिने जनाएको छ । 

सडक नपुगेको र निकै अप्ठ्यारो स्थानमा लाइन चुँडिएकोले मर्मत गर्न समय लाग्ने भएको हो । बिजुली नहुँदा सञ्चार माध्यम पनि प्रभावित छन् । स्थानीय रेडियोहरुले प्रसारण बन्द गरेका छन् भने डिजिटल प्रविधिका ब्यापारलाई समेत प्रत्यक्ष प्रभावित बनाएको छ । 

यसैबीच शनिबार रातिको हावाहुरीले रोल्पामा आधा दर्जन घर, विद्यालयमा समेत क्षति पु¥याएको छ । प्रहरीका अनुसार हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।


प्रतिक्रिया