बाढीले विस्थापित कञ्चनपुरका पीडित घर फर्किन थाले
असार २७, २०८१ | कञ्चनपुर
बाढीले विस्थापित भएकाहरु कञ्चनपुरका स्थानीय बासिन्दा घर फर्किन थालेका छन् । बाढी र डुबान घटेपछि विस्थापितहरु घर फर्किने क्रम सुरु भएको हो । बाढीबाट विस्थापित भएकाहरु घर फर्केपनि अझै ७ सय ५ जना पीडित विद्यालय र वडा कार्यालयमा बसेका छन् ।
जिल्ला प्रहरीका कार्यालयका अनुसार जिल्लाभरिमा बाढी र डुबानबाट १ हजार परिवारका ५ हजार जना विस्थापित भएका थिए । मंगलबारदेखि उनीहरु घर फर्किन थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बाढीका कारण कतिपयको घर भत्किएको तथा अधिकांशको घरमा अहिले पनि भित्र पस्न नसकिने अवस्था रहेको बताउनुभयो । ‘कतिपयको घर अहिले पनि भित्र पस्न नसकिने अवस्थामा छ,’ उहाँले भन्नुभयो, ‘कतिपय घर भत्केका छन्, उनीहरु अहिले पनि विद्यालयमै बसिरहेका छन् ।’
उहाँका अनुसार घर भत्केका र धेरै क्षति भएका पीडितहरु घर फर्किन सकेका छैनन् । बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।