‘बनको बाँदर वनैमा’ नीति कार्यान्वयन गर्न गोरखामा ६ हजार बिरुवा रोपियो

श्रावण ५, २०८१ | गोरखा

 ‘बनको बाँदर वनैमा’ कार्यक्रम कार्यन्वयनका लागि पालुङटार नगरपालिकाले शनिबार ६ हजार विरुवा रोपेको छ । बन उपभोक्ता समिति, तथा टोल सुधार संस्थासँगको समन्वयमा नगरपालिकाको १० वटै वडामा सामुहिक वृक्षारोपण गरिएको हो ।

घर वरपर नै उपलब्ध हुने फलफुल जन्य विरुवा रोपिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । केरा, आँप, कटहर, वर, पिपल, स्वामी, किम्वु, मेवा, अम्वा, लिचि, भुईँ कटहर, लप्सी लगायतका विरुवा सामुदायीक वनको खाली स्थान तथा खोलाकिनारमा रोपिएको उहाँले बताउनुभयो । 


पालुङटार नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८१ मा ‘बनको बाँदर वनैमा’ भन्ने नीति तथा कार्यक्रम ल्याएको थियो । बाँदर, दुम्सी, मृग लगायतका वन्यजन्तुबाट बालीनाली संरक्षण गर्न आवश्यक प्राकृतिक उपाय अवलम्वन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्थानीयले स्वतस्फुर्त रुपमा बााँदरले रुचाउने विरुवा वनको खाली ठाउँमा रोपेको नगरपालिकाले जनाएको छ । फलफुुलका बिरुवा रोप्न छुटेको विभिन्न सामुदायीक वनमा वडा तथा उपभोक्ता समिति सँग समन्वय गरेर वृक्षारोपण अभियान जारी राख्ने नगरपालिकाको योजना छ ।   


प्रतिक्रिया