जापानमा जन्मदर निरन्तर घट्दो क्रममा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १४, २०८२ | काठमाडौं

जापानमा जन्मदर लगातार १० औं वर्ष पनि घटेको पाइएको छ । त्यहाँको सरकारी तथ्याङ्कले हालै सार्वजनिक गरेको प्रारम्भिक विवरणले मुलुकको जन्मदर यस पटक पनि घटेको देखाएको हो । विवरण अनुसार यस वर्ष जम्मा ७ लाख ५ हजार ८ सय ९ शिशु जन्मिएका छन् ।

यो सन् २०२४ को तुलनामा २ दशमलव १ प्रतिशतले कम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तथ्याङ्कमा जापानभित्र जापानी नागरिक र विदेशी नागरिकबाट भएका जन्म तथा विदेशमा रहेका जापानी नागरिकका सन्तान समेत रहेको समाचारमा जनाइएको छ ।

विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा पछिल्ला वर्षहरुमा घट्दो क्रममा रहेको जन्मदरले श्रमशक्तिको अभाव, सामाजिक सुरक्षा खर्च तथा कर तिर्ने सक्रिय जनशक्तिको संख्यामा कमी आउने समस्या देखिएको छ । यसैबीच जापानकी प्रधानमन्त्री सानाय ताकाइचीले जन्मदर वृद्धिका लागि काम गर्ने प्रतिवद्दता जनाएको समाचारमा उल्लेख छ ।  


प्रतिक्रिया