जोखिम न्युनिकरणका लागि सिद्धार्थ राजमार्ग रातीको समयमा ११ घण्टा बन्द हुने
श्रावण ८, २०८१ | पाल्पा
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति न्यूनिकरण गर्नका लागि रातीको समयमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द गरिने भएको छ ।
साउन ९ गते बुधबार बेलुका ७ बजेदेखि विहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म सम्पूर्ण सवारी साधन आवतजावत गर्न बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उसो समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपर्ने अवस्थामा अनुमति लिएर मात्र संचालन गर्नसमेत आग्रह गरिएको छ ।
ठूलो पानी परेको वा सडकमा थप क्षती भएको खण्डमा प्राविधिकको राय वमोजिम आकस्मिक रुपमा जुनसुकै समयमा आंशिक वा पूर्णरुपमा सवारी साधनहरु आवतजावत गर्न बन्द गरिने प्रमुख जिल्ला अधिकारी काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५, स्थित हिउँदे खोला सडक खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डायभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भैरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको हो । अत्यावश्यकीय मालवाहक साधन बाहेक अन्य साधनहरु नचलाउन आग्रह गरिएको छ ।
सडक जुनसुकै अवस्थामा पनि बन्द हुने जोखिम रहेको तथा प्राविधिकले समय समयमा जाँच गरेर मात्र सवारी साधन चल्नुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो ।