नेपालमा भेटियो तालुधर्से अर्जुनक नयाँ चरा
श्रावण १४, २०८१ | लुम्बिनी
नेपालमा तालुधर्से अर्जुनक नामको नयाँ चरा फेला परेको छ । सो चरा माथिल्लो मुस्ताङको ३ हजार ६५० मिटर उचाईमा भेटिएको हो ।
वाईल्डलाईफ फोटोग्राफर संजय थाहा श्रेष्ठ र नेचर गाईड शंकर तिवारीले सो चराको तस्बिर सहित सूचना दिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चराविज्ञको टोलीले नेपालका लागि नयाँ भएको पुष्टि गरेको नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताउनुभयो ।
वाईल्डलाईफ फोटोग्राफर श्रेष्ठ र तिवारीले चरा अवलोकनका क्रममा तालुधर्से अर्जुनक चरा अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङस्थित लोमाङथाङ नजिकै समरमा साउन २ गते देखेका थिए ।
नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नयाँ चराको बारेमा श्रेष्ठ र तिवारीले तस्बिर सहित बिस्तृत जानकारी दिएका थिए । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग छलफल र राय सुझाव लिएर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा पुगेको समिति अध्यक्ष डा. तुल्सी सुवेदीले बताउनुभयो ।
समितिले अंग्रेजीमा ‘स्पटेड फ्लाइक्याचर’ नाम रहेको चराको नेपाली नाम तालुधर्से अर्जुनक दिएको हो । तालुमा धर्सा रहेकोले पहिचान गर्न सजिलो हुने भएकाले सो नाम दिइएको हो । अब नेपालमा चरा पाउनेको संख्या थपिएर ९ सय ९६ पुगेको छ ।
अर्जुनक प्रजातिको चरा पनि २४ पुगेको छ । यो गर्मीमा आउने फिरन्ते चरा हो । मुलुका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको वाईल्डलाईफ फोटोग्राफर श्रेष्ठले बताउनुभयो । ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ’, उहाँले भन्नुभयो, ‘अझ चराका फोटो खिच्न लाग्नु उत्प्रेरित गरेको छ ।’
यो नयाँ चरा मंगोलिया, चीन, अफगानिस्तान र पाकिस्तानमा पाईन्छ । प्रजनन् पनि गर्छ । जाडो याममा नियमित रुपमा दक्षिणतिर बसाइँ सर्ने गरेको रेकर्ड छ । यो चरा पनि बसाइँ सर्ने क्रममा यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ । वाईल्डलाईफ फोटोग्राफर श्रेष्ठ सन् २०२० मा मनोहरामा सेतो जुङगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए ।