नश्लवादी चिन्तनले लोकतन्त्र धरापमाः अध्यक्ष यादव
श्रावण १९, २०८१
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति तथा सत्ता स्वार्थले राष्ट्रियता, राष्ट्रिय एकीकरण र राष्ट्रिय एकतालाई पनि जोखिममा परेको आरोप लगाउनुभएको छ । राजदुत नियुक्तिका विषयमा सामाजिक संजाल फेसबुकमा लेख्दै पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले सरकारले समावेशी सिद्धान्त पालना नगरेको उल्लेख गर्नु भएको छ ।
संविधानको धारा २८२ मा राजदूत नियुक्त समावेशी सिद्धान्तको आधारमा गर्ने भनिएपनि राजदूत नियुक्तिसम्बन्धी मापदण्डमा पनि समावेशिताको सिद्धान्तको आधारमा गरिने भनिएपनि पालना नभएको उहाँको भनाई छ । अध्यक्ष यादवले १८ जना राजदूत सिफारिस गर्दा मधेशी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य रहेको उल्लेख गर्नु भएको छ ।
उहाँले न्यायाधिस नियुक्तीमाथि पनि प्रश्न उठाउनु भएको छ । न्यायाधीश नियुक्ति, संवैधानिक निकायहरुको नियुक्तिमा समावेशिताको ख्याल नगरेको पनि अध्यक्ष यादवले बताउनु भएको छ । मन्त्रिपरिषद समेत समावेशी नबनाएको भन्दै उहाँले समावेशी लोकतन्त्र नै धरापमा पारेको आरोप लगाउनु भएको छ ।