कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दियाको उद्धार केन्द्रमा

श्रावण १९, २०८१ | बर्दिया

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको घाइते बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुरको उद्धार केन्द्रमा राखिएको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको सो बाघ राति उद्धार केन्द्रमा राखिएको हो । 

बिहीबार बिहान बारीमा घाँस काटिरहेकी स्थानीय २६ वर्षीया हिरादेवी शाहलाई सो बाघले आक्रमण गरेर ज्यान लिएको थियो । ५ वटा हात्तीसहित प्राविधिक टोलीले शुक्रबार सो बाघलाई नियन्त्रणमा लिएको हो ।

प्राविधिक टोलीले बाघलाई डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिएको थियो । बर्दिया निकुञ्जका संरक्षण अधिकृत प्रविण पौडेलले रम्मापुर उद्धार केन्द्रमा शुक्लाफाँटा आरक्षबाट ल्याइएको बाघ भाले भएको बताउनुभयो । 

दुई वटा बाघका लागि बनाइएको केन्द्रमा एक समस्याग्रस्त पोथी पनि राखिएको छ । यसैगरी बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको उद्धार केन्द्रमा दुई वटा समस्याग्रस्त भाले बाघ रहेको संरक्षण अधिकृत पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया