पाल्पा सदरमुकाम तानसेनका पाँच डेरी पसललाई जरिवाना
भाद्र २, २०८१ | पाल्पा
न्यूनतम् मापदण्ड पूरा नगर्ने पाल्पा सदरमुकाम तानसेनका पाँच डेरी पसललाई जिल्ला संयुक्त अनुगमन समितिले जरिवाना गरेको छ ।
अनुगमनका क्रममा एसएनएफ ८ प्रतिशतभन्दा कम भएको दुध बिक्री गरेकाले उनीहरू कारबाहीमा परेका हुन् ।
१० दुध डेरी पसलमा अनुगमन गर्दा ५ वटाले मापदण्ड अनुसारको दुध बिक्री नगरेको पाइएकाले कारबाही गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।
न्यूनतम मापदण्ड पूरा गर्न दुधमा फ्याट ५ प्रतिशत र एसएनएफ ८ प्रतिशत हुनुपर्छ । विगतमा सचेत गराएर छाड्ने गरिए पनि यसपटक न्यूनतम् मापदण्ड पूरा नगर्ने डेरी पसललाई ५ हजारका दरले जरिवाना गरिएको अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।
कारबाहीमा परेका दुध डेरीले जरिवाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाइसक्नुपर्ने छ । अनुगमनका क्रममा कतिपय डेरीमा सरसफाइ राम्रो नभएको, ब्रान्डिङ नगरी उत्पादित वस्तुको बिक्री गर्दै आएको भेटिएकाले अनुगमन टोलीले मापदण्ड पूरा गरेर मात्र दुध बिक्री गर्न सुझाव दिएको छ ।