डेढ क्विन्टल रक्तचन्दनसहित नवलपरासी पश्चिममा एक जना पक्राउ
भाद्र ९, २०८१ | पूर्वी नवलपरासी
नवलपरासी पश्चिमबाट करिब डेढ क्विन्टल रक्तचन्दनसहित एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरीका अनुसार रामग्राम नगरपालिका–८ लोसडामा लुकाएर राखिएको ८१ थान रक्तचन्दन सहित स्थानीय प्रमोद गिरी पक्राउ परेका हुन् ।
रक्तचन्दन लुकाएर राखेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले गिरीको घरवाट १ सय ३० किलो रक्तचन्दन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहाराले जानकारी दिनुभयो ।
भारतबाट नेपालहुँदै चीनतर्फ लैजाने उद्देश्यले सो मात्राको रक्तचन्दन लुकाएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ । चीनसम्म लैजाँदा यसको मूल्य प्रतिकिलो १५ हजार रुपैयाँ पर्न सक्ने प्रहरीको अनुमान छ । रक्तचन्दनसहित पक्राउ परेका गिरीलाई डिभिजन वन कार्यालय पठाइएको छ ।